कलैया, जेठ १० — भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बाराको कलैयामा अन्तर्राष्ट्रिय भोजपुरी संगोष्ठी तथा सम्मान समारोह सम्पन्न भएको छ। नेपाल भोजपुरी फाउन्डेशनको आयोजना तथा भारतस्थित भोजपुरी साहित्य विकास मञ्चको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कलैया उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार बृजकिशोर पाण्डेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा माधव गौतम सहभागी थिए। कार्यक्रममा डा. अशोक पाण्डेसहित नेपाल र भारतका साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा भोजपुरी भाषा प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संगोष्ठीमा वक्ताहरूले भोजपुरी भाषा नेपालको महत्वपूर्ण सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र विकासका लागि राज्य तथा समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले नयाँ पुस्तामा भोजपुरी भाषाप्रति आकर्षण बढाउन साहित्य, कला र सांस्कृतिक गतिविधिलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल र भारतका भोजपुरी साहित्यकारहरूले आफ्ना धारणा राख्दै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले भोजपुरी भाषालाई विश्वस्तरमा चिनाउन मद्दत पुग्ने बताए। साथै भोजपुरी भाषा तथा साहित्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।
यस क्रममा पत्रकारिता क्षेत्रमा सक्रिय गोर्खा पात्रका बारा सहकर्मी शिवशंकर मिश्र र भोजपुरी टाइम्स दैनिकका प्रभु प्रसाद यादवलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाले आगामी दिनमा पनि भोजपुरी भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






