काठमाडौं, चैत २२ – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
यसअघि सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशपछि सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेको स्रोतले जनाएको छ। सबै प्रक्रिया पूरा भइसकेकाले आज दुवै रिट पेसीमा चढ्ने तयारी गरिएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। चैत १६ गते भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
सोही आदेशअनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेको हुँदा आज मुद्दामा बहस हुने भएको हो।

