प्रधानमन्त्रीको जवाफपछि मात्रै अघि बढ्ने संसद् बैठक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बुधबार पटक–पटक स्थगित भएको बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह ले दिने कार्यक्रम छ। त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
बुधबार भने प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभामा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको आरोप लगाउँदै नाराबाजी गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको विषयलाई समेत विपक्षीहरूले चर्को आलोचना गरेका छन्।
सभामुख डीपी अर्याल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउन समय दिएलगत्तै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गर्दै राजीनामासमेत माग गरेका छन्। प्रधानमन्त्रीको जवाफपछि मात्रै संसद् बैठक नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Leave a Comment