जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, ‘नवराज विकलाई न्याय’ को माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । जातीय विभेद र त्यसबाट उत्पन्न हिंसा तथा उत्पीडनविरुद्ध आइतबार काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ । प्रदर्शनमा विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्धिक व्यक्तित्व तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित विरोध कार्यक्रममा जातीय विभेद अन्त्यको माग गर्दै नाराबाजी र र्‍याली गरिएको हो ।
प्रदर्शनकारीहरूले छ वर्षअघि रुकुम सोती मा अन्तरजातीय प्रेमका कारण हत्या गरिएका नवराज विक सहित ६ जना युवाको स्मरण गर्दै न्यायको माग गरेका थिए । उनीहरूले “अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ” भन्दै राज्यप्रति आक्रोश व्यक्त गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले जातीय विभेद अन्त्य नगरेसम्म लोकतन्त्र अपूर्ण रहने बताएका थिए । उनीहरूले दलित समुदायमाथि भइरहेको ऐतिहासिक विभेद, सामाजिक बहिष्कार र हिंसाका घटनाविरुद्ध कडा आवाज उठाएका थिए ।
प्रदर्शनका क्रममा भूमिहीन दलितलाई खेतीयोग्य जमिन उपलब्ध गराउनुपर्ने, दलित विद्यार्थीलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने तथा दलित हत्याकाण्डहरूको निष्पक्ष छानबिनका लागि स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्नुपर्ने मागसमेत अघि सारिएको थियो ।

Leave a Comment