रवि लामिछानेले आज हेटौंडाबाट रास्वपाको प्रदेश अधिवेशन उद्घाटन गर्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आज हेटौंडाबाट पार्टीको प्रदेश अधिवेशन अभियानको औपचारिक सुरुवात गर्दैछन्। बागमती प्रदेश अधिवेशन उद्घाटनका लागि उनी बिहान हेटौंडा पुग्ने कार्यक्रम रहेको छ।
वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरिसकेको रास्वपाले अब प्रदेशस्तरीय नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन लागेको हो। बागमती प्रदेशबाट सुरु हुने अधिवेशनलाई पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।
हेटौंडास्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनमा प्रदेशभरबाट आएका प्रतिनिधिहरू सहभागी हुनेछन्। अधिवेशनमार्फत बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ। सभापति पदका लागि वर्तमान प्रदेश सभापति डा. अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।
पार्टी विधानअनुसार निर्वाचित प्रदेश समितिले आगामी कार्यकालका लागि संगठन विस्तार, सदस्यता व्यवस्थापन र राजनीतिक गतिविधिको नेतृत्व गर्नेछ। आवश्यक परे नेतृत्व चयनका लागि मतदानसमेत गरिने तयारी गरिएको छ।
रास्वपाले प्रदेश अधिवेशनहरू सम्पन्न गरेपछि असार ६ र ७ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने जनाएको छ। चितवनमा आयोजना हुने महाधिवेशनबाट पार्टीले नयाँ केन्द्रीय नेतृत्व र भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment