काठमाडौं, साउन ३ — फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता बन्ने होडमा साविक च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आज फाइनलमा भिड्दै छन्। नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित फुटबल प्रतिस्पर्धामध्ये एक मानिएको छ।
लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना मैदान उत्रँदा १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च शिखरमा पुग्ने लक्ष्य स्पेनको छ। दुवै टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकाले उपाधि कसले जित्ला भन्ने अनुमान गर्न कठिन बनेको छ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसी उत्कृष्ट लयमा छन्। उनले यस विश्वकपमा आठ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। समूह चरणमा सबै खेल जितेको अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इङ्ल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो।
स्पेनले पनि सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ। समूह चरणपछि अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएको स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको छ। बल नियन्त्रणमा आधारित खेल शैली र मजबुत रक्षापंक्तिका कारण स्पेनलाई उपाधिको बलियो दाबेदार मानिएको छ।
विश्वकप इतिहासमा अर्जेन्टिना र स्पेनबीच ६० वर्षपछि पुनः भेट हुन लागेको हो। यसअघि सन् १९६६ को विश्वकपमा भएको एकमात्र भेटमा अर्जेन्टिना २–१ ले जित निकालेको थियो। समग्र अन्तर्राष्ट्रिय भेटमा भने स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्।
एकातिर मेसीको सम्भावित अन्तिम विश्वकपलाई ऐतिहासिक बनाउने लक्ष्य अर्जेन्टिनाको छ भने अर्कोतर्फ दोस्रो पटक विश्व च्याम्पियन बन्ने अवसर स्पेनसामु छ। त्यसैले आजको फाइनल विश्व फुटबलका करोडौं समर्थकका लागि विशेष प्रतीक्षाको विषय बनेको छ।
विश्व फुटबलको ताजका लागि अर्जेन्टिना र स्पेन आज आमनेसामने
Leave a Comment
Leave a Comment

