काठमाडौं, साउन ४ — साउन महिनाको पहिलो सोमबारका अवसरमा राजधानीस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरूले व्रत बसेर जलाभिषेक, पूजा–आराधना, जप, तप तथा दर्शन गर्दै साउनको पहिलो सोमबार मनाएका छन्।
हिन्दु धर्ममा भगवान् शिवलाई समर्पित मानिने साउन महिनाभर विशेष धार्मिक गतिविधि हुने परम्परा छ। विशेषगरी प्रत्येक सोमबार शिवको पूजा–आराधना गरे मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहिआएको छ।
धार्मिक ग्रन्थअनुसार साउन महिनाको महत्व समुद्रमन्थनको प्रसंगसँग जोडिएको छ। देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा निस्किएको कालकूट विषबाट सृष्टिलाई बचाउन भगवान् शिवले उक्त विष पान गरेका थिए। विषको प्रभाव कम गर्न देवताहरूले शिवमाथि निरन्तर जल अर्पण गरेको स्मरणस्वरूप साउन महिनाभर शिवलिङ्गमा जल चढाउने परम्परा चलिआएको विश्वास गरिन्छ।
सोमबार भगवान् शिवको विशेष दिन मानिन्छ। ‘सोम’ शब्दको अर्थ चन्द्रमा हुने र शिवले चन्द्रमालाई जटामा धारण गरेका कारण उनलाई ‘चन्द्रशेखर’ समेत भनिन्छ। चन्द्रमा शीतलता, शान्ति र मनको प्रतीक भएकाले साउनका सोमबार शिवको पूजा गर्दा मानसिक सन्तुलन, सकारात्मक ऊर्जा र आध्यात्मिक लाभ प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
यस अवसरमा पशुपतिनाथलगायत प्रमुख शिवालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने भक्तजनको सहज दर्शनका लागि आवश्यक व्यवस्थापनसमेत गरिएको छ।
साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो
Leave a Comment
Leave a Comment

