१९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटले तोडिन् आमरण अनशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन २० – नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो आमरण अनशन अन्त्य गरेकी छन्। बुधबार भएको सहमतिपछि उनले अनशन तोडेकी हुन्।
सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा, कानुन अधिकृत जयप्रसाद सुवेदी तथा नर्स रानाभाटबीच सहमति भएको हो। सहमति प्रक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीको सचिवालय र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
सहमतिअनुसार नर्स, मिडवाइफ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक र सम्मानजनक सेवा–सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले बढीमा छ महिनाभित्र अध्ययन पूरा गरी आवश्यक सिफारिस पेश गर्नेछ।
रानाभाटले साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा १५ बुँदे माग राख्दै आमरण अनशन सुरु गरेकी थिइन्। उनका मागमा स्वास्थ्यकर्मीको सेवा–सुविधा सुधार, भ्रष्टाचारमुक्त र पारदर्शी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा तथा सुरक्षित स्वास्थ्य प्रणालीको सुनिश्चितता समावेश थियो।
सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित १९ बुँदे सहमति गरेपछि रानाभाटले आमरण अनशन अन्त्य गरेकी हुन्

Leave a Comment