काठमाडौं-२७ भदौ ।
राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी उनकै सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने सहमति गरेको छ।
यसअघि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भए पनि संसद विघटन कसको सिफारिसमा गर्ने भन्नेबारे कुरा नमिल्दा नियुक्तिमा विलम्ब भइरहेको थियो।
दिनभरि भएको छलफलपछि आखिरमा कार्की पहिले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नै मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस गर्न तयार भएकी हुन्।
यो सहमतिअनुसार आज राति ९ बजे कार्कीको शपथग्रहण गरिने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।
‘मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनेछ,’ पोखरेलले भने।
प्रधानमन्त्री बनेपछि कार्कीले के-के काम गर्ने भन्ने लगभग टुंगो लागिसकेको छ। नयाँ बन्ने सरकारको मुख्य काम निर्वाचन गराउनु हो।
त्यसबाहेक भदौ २३ र २४ गते जेनजी प्रदर्शन क्रममा भएका घटनाबारे छानबिन गर्ने, भ्रष्टाचार र नेताहरूका सम्पत्ति छानबिन गर्ने जस्ता काम कार्की नेतृत्वको सरकारले अघि बढाउने छ। सांभार-सेतोपाटी


