विश्वासको मतपछि सहज रूपमा मन्त्रिपरिषद् विस्तार हुने तयारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगञ्ज, कात्तिक १७ — मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार सोननले विश्वासको मत लिएपछि सहज ढंगले मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

स्रोतका अनुसार सरकार विस्तारबारे सत्तारूढ दलबीच छलफल जारी छ। जसपाले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेको छ भने जनमत पार्टीले अर्थ मन्त्रालय पाउने सम्भावना देखिएको छ। माओवादी केन्द्रले ऊर्जा मन्त्रालय सम्हाल्नेगरी प्रारम्भिक सहमति भएको बताइएको छ।

तर, भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र जनमत दुबैको दाबी रहेकोले अन्तिम टुंगो अझै लागेको छैन।

मुख्यमन्त्री सोननले असोज ३० गते शपथग्रहण गरेका थिए। शपथको दिनमै उनले एकीकृत समाजवादी र जनमत पार्टीबाट दुई मन्त्री नियुक्त गरेका थिए, तर उनीहरूको मन्त्रालयको जिम्मेवारी अझै निर्धारण भएको छैन।

सत्तारूढ गठबन्धनका नेताहरूले छिट्टै मन्त्रालय बाँडफाँड टुंग्याएर पूर्ण मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताएका छन्।

Leave a comment