काठमाडौँको आकाश फेरि धुम्म, वायु प्रदूषण ‘अस्वस्थ’ तहमा विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ सातौँ स्थानसम्म

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुबाट शनिबार देखिएको तुवाँलो लागेको काठमाडौँ उपत्यका । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ । आइतबार, २५ माघ २०८२
काठमाडौँ उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानसम्म पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आइतबार दिउँसो १ बजेर २५ मिनेट जाँदा काठमाडौँको एक्यूआई १५१ पुगेको छ, जसलाई ‘अस्वस्थ’ तह मानिन्छ।

आज बिहान काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको थियो भने दिउँसोसम्म आइपुग्दा नवौँ स्थानमा झरेको छ। आज विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्यूआई मापन गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५० सम्मको एक्यूआईलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको स्तर स्वास्थ्यका लागि हानिकारक मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआईलाई सावधानी अपनाउनुपर्ने अवस्था, १०१ देखि १५० सम्म पुगेमा श्वासप्रश्वास र मुटुका रोगीलाई असर गर्न सक्ने तथा १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयदेखि पानी नपर्नु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो।
उनले भने, “औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सीमापार प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले काठमाडौँको वातावरणलाई असर गरिरहेको छ। पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ।”

विभागका अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा समावेश गरिएको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार जल, वायु, माटो, ध्वनि तथा जोखिमपूर्ण रासायनिक प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने योजना पनि अघि बढाइएको छ।

Leave a Comment