ट्रेड युनियनका कार्यालय बन्द गर्न सरकारको निर्देशन, कर्मचारीलाई नियमित काममा फर्काइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : सरकारले कर्मचारी ट्रेड युनियनसँग सम्बन्धित गतिविधिमा कडाइ गर्दै युनियनका कार्यालय बन्द गर्न र त्यहाँ आबद्ध कर्मचारीलाई नियमित जिम्मेवारीमा फर्काउन निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा सरकारी निकायलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो। परिपत्रमा हालै जारी गरिएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पछि निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भइसकेको उल्लेख गरिएको छ, जसमा ट्रेड युनियनसम्बन्धी प्रावधान समेटिएको थियो।
मन्त्रालयले ट्रेड युनियनका नाममा सञ्चालन भइरहेका कार्यालय तत्काल बन्द गर्न र युनियन प्रयोजनका लागि प्रयोग भएका कार्यालय कक्ष, सवारी साधन तथा अन्य सरकारी स्रोत–साधन फिर्ता लिन निर्देशन दिएको छ।
यस्तै, ट्रेड युनियनमा आवद्ध कर्मचारीहरूलाई पनि अब आफ्नो दरबन्दीअनुसारको काममा खटाउनुपर्ने व्यवस्था गरिएको छ। सचिवस्तरीय निर्णयअनुसार जारी परिपत्रमा सबै निकायलाई उक्त व्यवस्था तत्काल लागू गर्न भनिएको छ।
सरकारको यो कदम प्रशासन सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको बताइएको छ।

Leave a Comment