पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

पोखरा, असोज २३ । पोखरा महानगरपालिकाले पोखरा–२८ मा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

दुर्घटनामा चार विद्यार्थी र एक गरी पाँच जनाको मृत्यु भएपछि महानगरपालिकाले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको हो।
महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको कारण पहिचान गर्नुका साथै घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।
माझठानाबाट विद्यार्थी बोकेर आएको बस पोखरा–२८ स्थित कालिकाको ओख्ले भीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको छ भने १४ विद्यार्थी घाइते भएका छन्।
महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने, विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था मूल्याङ्कन गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउने उद्देश्यले समिति गठन गरिएको हो।
समितिले विद्यार्थीको सुरक्षित आवागमन, विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, सुरक्षा मापदण्डको पालना र अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत सुझाव दिनेछ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
विद्यार्थीको सुरक्षालाई सबैले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले विद्यालयका सवारीसाधनको नियमित जाँच, तोकिएका सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन र प्रभावकारी निगरानी गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्

Leave a Comment