२३ असोज २०८३, शुक्रबार,पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कक्षा ९ र १० मा अध्ययनरत चार विद्यार्थी तथा एक सर्वसाधारण रहेका छन्।
प्रहरीका अनुसार बस पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीर भन्ने स्थानबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे भने विस्तृत विवरण आउन बाँकी छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।
घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी टोली अस्पताल पुगेको छ। दुर्घटनाको अवस्था र घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

