काठमाडौं, २३ असोज। सरकारले सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ।
अनुशासनहीन कार्य गरेको र संगठनको मान, प्रतिष्ठा तथा छविमा आँच पुर्याएको आरोपमा सरकारले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार दाहाललाई शुक्रबारदेखि लागू हुने गरी विभागीय कारबाही गर्दै सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनले आचरणसम्बन्धी प्रावधान पटक–पटक उल्लङ्घन गरेको उल्लेख छ।
यसअघि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरी छानबिन अघि बढाएको थियो।
सशस्त्र प्रहरी बल नेपालबाट दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस आएपछि मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो। सोही प्रकरणमा गरिएको विभागीय कारबाहीपछि सरकारले उनलाई सेवाबाट हटाएको हो।

