जनकपुर — असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ सहितका अभियुक्तहरूलाई कैद सजाय सुनाएको छ।
बुधबार उच्च अदालत जनकपुरको इजलासले यसअघि महोत्तरी जिल्ला अदालतबाट भएको फैसला उल्ट्याउँदै कोइरीसहित ६ जनालाई जनही ५ वर्ष कैद हुने फैसला गरेको हो।
फैसला अनुसार लक्ष्मी महतो ‘कोइरी’, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई ५ वर्ष कैद सजाय तोकिएको छ।
यसअघि जिल्ला अदालत महोत्तरीले कोइरी र पवन कापरलाई सफाइ दिएको थियो। उच्च अदालतका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला उल्टाएको हो।
त्यस्तै, जिल्ला अदालतले जन्मकैद सुनाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय घटाएर ५ वर्ष कैद कायम गरिएको छ।
तर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने उच्च अदालतले सोही फैसला सदर गरेको छ।
२०७२ भदौ २५ गते भएको असई थमन विक हत्या प्रकरणमा तत्कालीन एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
असई थमन विक हत्या प्रकरणमा उच्च अदालतको फैसला, पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
Leave a Comment
Leave a Comment






