२३ मंसिर, काठमाडौं ।
जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले आजदेखि सुरक्षा निकायका शीर्ष अधिकारीहरुसँग औपचारिक बयान लिन सुरु गरेको छ।
आयोगसँग जु़डिएका एक स्रोतका अनुसार मंगलबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई पहिलो चरणमा बयानका लागि उपस्थित गराइँदैछ। अर्याल जेनजी आन्दोलनको समयमा पनि सशस्त्र प्रहरीको नेतृत्वमा थिए।
उनको बयानपछि आयोगले नेपाल प्रहरीका तत्कालीन एआईजी तथा हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ। कार्की आन्दोलनभन्दा एक दिनअगाडि मात्र काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए। आयोगले कार्कीलाई हालको आईजीको भूमिकामा होइन, आन्दोलनकालीन एआईजी पदको जिम्मेवारीको आधारमा बयान लिनेछ।
आयोगका एक पदाधिकारीका अनुसार,
“नेपाल प्रहरी र सशस्त्र प्रहरीका बहालवाला प्रमुखहरूबाट अझै बयान लिएको छैन। आजदेखि प्रक्रिया सुरु हुन्छ। त्यसपछि क्रमशः तत्कालीन गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीलाई बोलाइनेछ,” स्रोतले भने।
यसअघि काठमाडौंका तत्कालीन सीडीओ छवि रिजालले तीन दिनसम्म बयान दिएर प्रक्रिया सकाएका छन्। त्यस्तै, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि आयोगमा आफ्नो धारणा राखिसकेका छन्।
आयोगको म्याद सकिन अब एक सातामात्र बाँकी छ। तर बयान प्रक्रिया अपूर्ण रहेका कारण प्रतिवेदन लेखन र तथ्य संकलनका लागि म्याद थप्नै पर्ने अवस्था बनेको आयोग स्रोतको भनाइ छ।

