काठमाडौं, ३० चैत । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बेलैमा सचिन सुझाव दिएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणबारे भइरहेको आलोचनाविरुद्ध गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु तिम्रो गल्ती होइन, तर मर्दा गरिब मर्नु तिम्रो गल्ती हो’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका थिए।
उक्त अभिव्यक्तिलाई लिएर अभियन्ता बमले सामाजिक सञ्जालमै प्रश्न उठाएकी हुन्। उनले लेखेकी छन्, “माननीय गृहमन्त्रीज्यू, फिल्मी संवाद फिल्मका लागि उपयुक्त हुन सक्छन्, तर वास्तविक जीवन संघर्षले भरिएको हुन्छ। आर्थिक अवस्थाका आधारमा कसैको जीवनलाई गलत भन्न मिल्दैन।”
उनले नेपालका २० प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै सबैलाई समान अवसर नपुगेको बताएकी छन्। “तपाईंको जस्तो आर्थिक अवस्था बनाउन राज्यले सबैलाई अवसर दिएको हुँदैन। धेरैका लागि त्यो केवल सपना जस्तै हुन्छ,” उनले भनिन्।
राज्यका सीमित स्रोतका कारण सबै नागरिकको आर्थिक अवस्था तुरुन्तै सुधार गर्न सम्भव नरहेको उनले उल्लेख गरेकी छन्। साथै, यसका लागि स्पष्ट र यथार्थपरक योजना सरकारसँग नभएको पनि उनले आरोप लगाएकी छन्।
“जनतालाई नै दोष दिने प्रवृत्तिका कारण नै तपाईंहरू सत्तामा पुग्नुभएको हो,” उनले भनिन्, “आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला?”
गृहमन्त्रीको यस्तो अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गर्दै अभियन्ता बमले बेलैमा सचिन आग्रह गरेकी छन्।

