काठमाडौं, १४ फागुन २०८२।
प्रतिनिधिसभा निर्वाचन हुने २१ फागुनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत सञ्चालन हुने भएको छ।
निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो। आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै मतदानको दिन पनि नियमित रूपमा हवाई उडान सञ्चालन हुने वातावरण मिलाउन निर्देशन दिएको जनाएको छ।
निर्णय अनुसार, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म र पुनः विमानस्थलसम्म आउजाउ गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न अनुमति दिइनेछ।
यसअघि नेपालका निर्वाचनहरूमा मतदानको दिन आन्तरिक उडान बन्द गर्ने प्रचलन थियो। सोही आधारमा नेपाल पर्यटन बोर्डले समेत ट्राभल एडभाइजरी जारी गर्दै आएको थियो।
यसपटक भने निर्वाचनका दिन पनि हवाई सेवा निरन्तर सञ्चालन गर्ने निर्णयले यात्रु तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

