२५ चैत २०८२, बुधबार | काठमाडौं
कञ्चनपुर कारागारभित्र कैदीबन्दीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब १२ बजेतिर सामान्य विवादबाट सुरु भएको भनाभन चर्किँदै झडपमा परिणत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। होहल्ला र गालीगलौज बढ्दै जाँदा स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि झडप भएको प्रहरीको भनाइ छ।
झडपमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई घाइते भएका छन्।
घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
झडप लगत्तै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

