विराटनगर, ५ वैशाख । मोरङको विराटनगरस्थित एक होटलबाट प्रहरीले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गरेर गैरकानुनी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार होटलभित्र ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण कार्यक्रम चलिरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो। सो क्रममा कार्यक्रम सञ्चालन गरिरहेका विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी उपरीक्षक कवित कटुवाल का अनुसार पक्राउ पर्नेमा सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना रहेका छन्। उनीहरूले पर्यटक भिसाको नियम उल्लंघन गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त कार्यक्रममा नेपाली सहयोगी निरा राजभण्डारीसहित करिब ३० जना सहभागी थिए, जसमा १६ वर्षमुनिका १२ जना किशोरी पनि रहेको प्रहरीले जनाएको छ।
नेपालमा पर्यटक भिसामा आउने विदेशी नागरिकलाई कुनै पनि प्रकारको व्यवसायिक, शिक्षण वा प्रशिक्षण गतिविधि सञ्चालन गर्न अनुमति हुँदैन। पक्राउ परेका व्यक्तिहरूले भने सोही नियम विपरीत ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण दिएको पाइएको प्रहरीले बताएको छ।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौँ पठाउने तयारी गरेको छ। अध्यागमन ऐनअनुसार भिसा नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई जरिवाना र निष्कासनसम्मको व्यवस्था रहेको छ।
पर्यटक भिसामा प्रशिक्षण चलाएको आरोप : विराटनगरबाट ६ विदेशी पक्राउ
Leave a Comment
Leave a Comment

