रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परेका थप तीन जना अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने पहिरो र बाढीले बगाएर लगेकामध्ये पाँच जनाको शव प्यूठानका विभिन्न स्थानमा फेला परेको हो। मृतकमा पाँच वर्षका बालकदेखि ८५ वर्षसम्मका वृद्धवृद्धा छन्।
बुधबार राति गाउँको माथिल्लो भागबाट लेदोसहित अचानक पहिरो खस्दा ११ वटा घर तथा गोठमा क्षति पुगेको थियो। पहिरोले ठूलो जनधनको क्षति गरेपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।
घटनास्थलमा फेला परेका शवमध्ये १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
त्यस्तै, रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदीका विभिन्न स्थानबाट थप पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्यूठानमा भेटिएका शवमध्ये ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।
पहिरोबाट ज्यान जोगाउन सफल २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूले पहिरोपछि प्रहरीको आपत्कालीन नम्बरमा फोन गरेर घटनाबारे जानकारी गराएका थिए।
घाइते दुवैलाई सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
प्रहरीका अनुसार पहिरोले नौ वटा घर, एउटा घुम्ती पसल, दुई वटा गोठ र एउटा चर्च पुरेको छ। बेपत्ता व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ।
थबाङ पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३ जना अझै बेपत्ता
Leave a Comment
Leave a Comment

