कात्तिक १७, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी त्यहाँ कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका हुन्।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सम्मेलनमा सहभागी भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले उनलाई बिदाइ गरेका थिए।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा हुने सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन्।
सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजना गरिएको यो सम्मेलनमा यसपटक विकासमा असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको प्रभाव लगायतका विषयमा छलफल हुनेछ।
संयुक्त राष्ट्रसंघमा सन् १९५५ देखि सदस्य रहेको नेपाल हाल **संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC)**को अध्यक्ष राष्ट्र हो। राष्ट्रपति पौडेलले भ्रमण पूरा गरी कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



Leave a Reply