न्युजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन १४, २०८२: आईसीसी टी–२० विश्वकपमा सहआयोजक श्रीलंका सुपर–८ चरणबाटै बाहिरिएको छ। गएराति कोलम्बोमा भएको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा अन्त्य भएको हो।

१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो। कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन जोड्दा दुनिथ वेलालगेले २९ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। म्याट हेनरीले किफायती बलिङ गर्दै २ विकेट झारे।

यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीबीच महत्वपूर्ण ८४ रनको साझेदारी भएको थियो। सान्टनरले ४७ रन बनाउँदा रचिन रविन्द्र (३२) र फिन एलेन (२८) ले पनि टोलीलाई बलियो योगफलतर्फ पुर्‍याए।

लगातार दोस्रो हारसँगै समूह–२ मा रहेको श्रीलंका अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। सन् २०१४ मा उपाधि जितेपछि श्रीलंका टी–२० विश्वकपको सेमिफाइनलसम्म पुग्न सकेको छैन।

यस समूहमा इङ्ग्ल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ भने न्युजिल्यान्ड ३ अंकका साथ दोस्रो स्थानमा छ। न्युजिल्यान्डले अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई हराए सेमिफाइनल पुग्नेछ।

आज प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिज र दक्षिण अफ्रिका तथा भारत र जिम्बाब्वेबीच खेल हुँदैछ।

Leave a Comment