२ पुस,काठमाडौँ — एसीसी पुरुष यू–१९ एशिया कपअन्तर्गत आज नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान करिब १०:४५ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना अघिल्ला दुई खेलमा लगातार हार बेहोरेपछि सेमिफाइनलको दौडबाट बाहिरिसकेका छन्। त्यसैले आजको खेल प्रतियोगिताको अंक तालिकामा निर्णायक नहुने बताइएको छ।
नेपाल र अफगानिस्तान दुवै टोली श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए। यद्यपि प्रतियोगिताबाट बाहिरिसके पनि दुवै टोलीका लागि यो खेल सम्मानका लागि हुने प्रतिस्पर्धा मानिएको छ।
एकदिवसीय ढाँचामा भइरहेको एसीसी यू–१९ एशिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र आयोजक युएई सहभागी छन्। समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने समूह ‘बी’ बाट अन्य टोलीबीच प्रतिस्पर्धा जारी छ।

