काठमाडौं, १४ फागुन २०८२।
मतदाता नामावलीमा नाम भए पनि मतदाता परिचयपत्र नभएका नागरिकले ६ प्रकारका आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका छन्।
निर्वाचन आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा वा अन्य आधिकारिक परिचय खुल्ने कागजात देखाएर मतदान गर्न सकिनेछ। यस सम्बन्धमा मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिइसकिएको आयोगले जनाएको छ।
मदिरा बिक्री–सेवनमा पूर्ण प्रतिबन्ध
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) बिक्री, वितरण तथा सेवनमा पूर्ण रोक लगाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा यस्तो निर्णय गरिएको हो।
सीमा नाका बन्द र मौन अवधि लागू
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिनेछ। साथै फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू हुनेछ।
मतदानको दिन सवारी साधन सञ्चालनमा रोक
मतदानको दिनको आवागमन व्यवस्थित गर्न फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
तर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकाय, विद्युत, खानेपानी, दूरसञ्चार मर्मत, कूटनीतिक नियोगका सवारी तथा आयोगबाट पास प्राप्त साधनहरू भने सञ्चालन हुन पाउनेछन्।
हवाई उडान भने नियमित
सडक यातायातमा रोक लगाए पनि मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थलसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सको सवारी प्रयोग गर्न अनुमति दिइने आयोगले जनाएको छ।
शिक्षक–कर्मचारीलाई चेतावनी
यसैबीच केही शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलको प्रचारमा संलग्न भएको उजुरी आएपछि आयोगले कडा चेतावनी दिएको छ। शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार दलको प्रचारमा संलग्न कर्मचारीलाई पदबाटै हटाउनेसम्म कारबाही हुन सक्ने आयोगले जनाएको छ।

