चीनको जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार २६ — चीनको पूर्वी प्रान्त फुजियानस्थित एक जुत्ता कारखानामा लागेको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। आगलागीपछि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिए पनि केही व्यक्ति अझै सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १२ बजे जिनजियाङ शहरमा रहेको हुइटेङ जुत्ता कारखानामा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिएपछि भवनभित्र रहेका कामदारहरू बाहिर निस्कन नसकेका थिए।
उद्धारका लागि १८३ जना सुरक्षाकर्मी, ३५ वटा उद्धार तथा दमकलका सवारीसाधन परिचालन गरिएको थियो। लामो प्रयासपछि साँझतिर आगो नियन्त्रणमा आए पनि भवनभित्र अझै केही व्यक्ति फसेको आशंका गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार कारखानामा रहेका जुत्ता उत्पादनका कच्चा पदार्थ र ज्वलनशील टाँस्ने सामग्री (अडेसिभ) ले आगो तीव्र रूपमा फैलिन सहयोग गरेको थियो। साथै, सामग्रीले भरिएका भर्‍याङ र आपतकालीन निस्कने मार्ग अवरुद्ध भएकाले उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूलो मानवीय क्षति भएको भन्दै प्रभावितको उद्धार, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। उनले लापरवाही गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने पनि बताएका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार केही व्यक्ति अझै सम्पर्कविहीन छन् भने उद्धार टोलीले उनीहरूको खोजी कार्य जारी राखेको छ। राष्ट्रपति सीले पछिल्ला औद्योगिक दुर्घटनाबाट गम्भीर पाठ सिक्दै देशभर औद्योगिक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Leave a Comment