बेलायतको कडा अध्यागमन नियमले नेपाली श्रमिकमा बढायो संकट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 5 मिनेट

लन्डन । बेलायत सरकारले स्किल्ड वर्कर भिसासम्बन्धी नियम कडा बनाउँदै लगेपछि बेलायतमा रहेका नेपाली कामदार र नयाँ अवसर खोजिरहेका नेपालीहरू थप जोखिममा पर्न थालेका छन्। विशेषगरी रोजगारदाताको लाइसेन्स खारेज वा निलम्बन हुँदा स्पोन्सरमा निर्भर कामदारलाई छोटो समयमै नयाँ रोजगारदाता खोज्नुपर्ने बाध्यता सिर्जना भएको छ।
बेलायत पुगेपछि रोजगारदाताबाट आर्थिक तथा मानसिक शोषणमा परेको नेपालीहरूको गुनासोसमेत बढ्दै गएको छ। कतिपय कामदारले सम्झौतामा उल्लेख भएकोभन्दा बढी समय काम गर्नुपरेको, तोकिएको पारिश्रमिक नपाएको, तलबको विवरण नदिइएको र पेड होलिडे तथा पेन्सन सुविधाबाट समेत वञ्चित हुनुपरेको बताएका छन्।
एक नेपाली महिला, जसको नाम परिवर्तन गरी मेलिसा थापा राखिएको छ, सन् २०२१ मा बेलायती विश्वविद्यालयबाट एमबीए पूरा गरेपछि पोस्ट–स्टडी वर्क भिसामा काम गरिन्। त्यसपछि नेपाल फर्किनुभन्दा बेलायतमै बस्ने निर्णय गर्दै उनले सन् २०२४ जनवरीमा एक रेस्टुरेन्टबाट स्पोन्सरसीप लिएर स्किल्ड वर्कर भिसा प्राप्त गरिन्।
भिसा आवेदनका क्रममा रोजगारदाताको अनुरोधमा उनले सोलिसिटरलाई करिब ४ हजार ५ सय पाउन्ड अर्थात् ९ लाख रुपैयाँभन्दा बढी रकम तिरेकी थिइन्। सुरुमा सातामा ३७ घण्टा काम गरेबापत वार्षिक २१ हजार ५ सय पाउन्ड पारिश्रमिक दिने भनिए पनि पछि सातामा ४२ घण्टासम्म काम गर्न लगाइएको उनको भनाइ छ। कामको समय बढे पनि उनलाई सातामा ४ सय पाउन्ड मात्र दिइएको उनले बताएकी छन्।
उनले अधिकांश समय पे स्लिपसमेत पाइनन्। केही महिनाको पे स्लिपमा ‘नेस्ट पेन्सन योगदान’ भन्दै रकम काटिएको देखिए पनि सम्बन्धित पेन्सन संस्थासँग सम्पर्क गर्दा आफूलाई योजनामा आबद्ध नगरिएको जानकारी पाएको उनको दाबी छ।
करिब २६ महिनाको अवधिमा आफूले कुनै पेड होलिडे नपाएको र आर्थिक तथा मानसिक शोषण सहनुपरेपछि अहिले श्रम अदालत पुगेको उनले बताइन्। लामो समयदेखि बेरोजगार रहँदा आफ्नो अवस्था झन् कठिन बनेको उनको भनाइ छ।
रोजगारदाताको लाइसेन्स खारेज हुँदा अर्को समस्या
स्किल्ड वर्कर भिसामा रहेका नेपालीमध्ये केही अहिले रोजगारदाताको लाइसेन्स खारेज वा निलम्बन भएपछि समस्यामा परेका छन्।
इशा नाम परिवर्तन गरिएकी एक नेपाली महिला लन्डनको रेस्टुरेन्टमा म्यानेजरका रूपमा कार्यरत थिइन्। उनले दुई पटक भिसा विस्तार गर्दा करिब २५ लाख रुपैयाँ खर्च गरिसकेकी थिइन्। बेलायतमा स्थायी बसोबासको अधिकार प्राप्त गर्न अझै करिब डेढ वर्ष बाँकी रहेका बेला उनको रोजगारदाताको लाइसेन्समाथि कारबाही अघि बढेपछि उनी अन्योलमा परेकी छन्।
बेलायती गृह मन्त्रालयले नियम र पूर्वसर्त पालना नगरेको भन्दै उक्त रेस्टुरेन्टको कामदार प्रायोजनसम्बन्धी इजाजत रद्द गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।
रोजगारदाताको स्पोन्सर लाइसेन्स निलम्बित वा खारेज भएमा कामदारले सामान्यतया सीमित समयभित्र नयाँ स्पोन्सर खोज्नुपर्ने अथवा बेलायत छाड्नुपर्ने अवस्था आउन सक्छ।
इशाले आफ्नो म्यानेजर पदमा नयाँ स्पोन्सर पाउन कठिन रहेको बताइन्। नयाँ नियमअनुसार आवश्यक तलबको सीमा पूरा गर्नुपर्ने भएकाले आफूजस्ता कामदार थप समस्यामा परेको उनको गुनासो छ।
नयाँ नियमले अवसर थप साँघुरो बनायो
बेलायतले पछिल्लो समय स्किल्ड वर्कर भिसामा कडाइ गर्दै आएको छ। सन् २०२५ जुलाईदेखि लागू भएका परिवर्तनपछि विदेशबाट कामदार ल्याउन आवश्यक तलब सीमा बढाइएको छ भने केही गैर–स्नातक तहका पेसा नयाँ आवेदनका लागि योग्य नरहने व्यवस्था गरिएको छ।
अध्यागमनसम्बन्धी जानकार विष्णु खरेलका अनुसार सरकारी निरीक्षणका क्रममा रोजगारदाताले आवश्यक मापदण्ड पूरा नगरेका भेटिएपछि धेरै कम्पनीले आफ्नो स्पोन्सर लाइसेन्स गुमाएका वा निलम्बनमा परेका छन्।
उनका अनुसार सम्झौताअनुसार तलब नदिनु, न्यूनतम पारिश्रमिक नदिनु, पेड होलिडे उपलब्ध नगराउनु तथा भिसा आवेदनमा उल्लेख गरिएको पदभन्दा फरक काममा लगाउनुजस्ता कारणले रोजगारदातामाथि कारबाही हुने गरेको छ।
बेलायतमा नेपालीसहित विदेशी कामदारलाई स्पोन्सर गर्ने व्यवसायीहरूका लागि समेत नयाँ नियम चुनौतीपूर्ण बनेको छ। लन्डनका एक रेस्टुरेन्ट व्यवसायीका अनुसार उच्च तलब, प्रशासनिक प्रक्रिया र विभिन्न कानुनी दायित्वका कारण नेपाल वा अन्य देशबाट नयाँ कामदार ल्याउन पहिलेभन्दा निकै कठिन भएको छ।
घट्दैछ स्किल्ड वर्कर भिसा
बेलायतले युरोपेली संघबाट बाहिरिएपछि विदेशी कामदारलाई रोजगार दिन स्किल्ड वर्कर भिसा प्रणालीलाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गर्दै आएको थियो। तर पछिल्लो समय सरकारले विदेशी कामदारको संख्या नियन्त्रण गर्ने उद्देश्यले नियमहरू कडा बनाउँदै लगेको छ।
बेलायती गृह मन्त्रालयका अनुसार यस वर्षको मार्चसम्मको १२ महिनामा ६८ हजार ६७ स्किल्ड वर्कर भिसा जारी भएका थिए। तीमध्ये २९ हजार ७ सय ४५ जना मुख्य आवेदक र ३८ हजार ३ सय २२ जना उनीहरूका आश्रित थिए। अघिल्लो वर्षको तुलनामा यो संख्या करिब ३० प्रतिशत कम हो।
नयाँ व्यवस्थाअनुसार उच्च तलब र आवश्यक शैक्षिक योग्यता पूरा गर्नुपर्ने भएकाले पहिलेको तुलनामा धेरै नेपालीका लागि स्किल्ड वर्कर भिसामा प्रवेश गर्ने बाटो साँघुरिएको छ।
यसले बेलायतमा अध्ययनपछि वर्क भिसामा जाने योजना बनाएका नेपाली विद्यार्थी तथा पहिले नै रोजगारदाताको स्पोन्सरमा रहेका नेपाली कामदारलाई प्रत्यक्ष प्रभाव पार्न थालेको छ। रोजगारदाताको गल्तीका कारण स्पोन्सर लाइसेन्स गुमेमा त्यसको असर कामदारको रोजगारी र बेलायतमा बसाइको अवस्थामासमेत पर्न सक्ने भएकाले नेपाली कामदार थप सचेत हुनुपर्ने देखिएको छ।

Leave a Comment