ढाकामा श्रृंखलाबद्ध बम विस्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कात्तिक २६, काठमाडौं । भारत र पाकिस्तानपछि बंगलादेशको राजधानी ढाकामा पनि श्रृंखलाबद्ध बम विस्फोट भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाए अनुसार मंगलबार साँझ ढाकाका फरक–फरक स्थानमा विस्फोट भएका हुन्।

एएसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार ढाकाको धानमन्डीगुलिस्तान क्षेत्रमा छोटो अन्तरालमै दुईवटा बम विस्फोट भएका थिए। धानमन्डीस्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) कार्यालय अगाडि स्थानीय समय अनुसार राति ८:०४ बजे पहिलो विस्फोट भएको हो। त्यसपछि राति ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिक अर्को विस्फोट भएको थियो।

जिल्ला अदालत भवन अगाडि पार्क गरिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन्। उक्त आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको बंगलादेशको ‘द डेली स्टार’ पत्रिकाले जनाएको छ। टीटीपीले यस्तो प्रकारका आक्रमण निरन्तर जारी रहने चेतावनीसमेत दिएको बताइएको छ।

प्रहरीका अनुसार, दुवै घटनामा मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फ्याँकेर फरार भएका थिए। हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको बताइएको छ।

विस्फोटमा प्रयोग गरिएका बमहरू ‘क्रुड बम’ अर्थात् घरेलु तरिकाले बनाइएका साधारण विस्फोटक यन्त्र रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यस्ता बम सामान्यतया अस्थिर र कम गुणस्तरका हुने गर्छन्।

ढाकाका सञ्चारमाध्यमहरूले मानवीय क्षति सीमित भए पनि घटनापछि राजधानीमा व्यापक त्रास फैलिएको जनाएका छन्। सरकारले देशभर सुरक्षा सतर्कता उच्च बनाएको छ।

सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न र संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

यसअघि आइतबार भारतको राजधानी नयाँदिल्लीमा कार बम विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने सोमबार पाकिस्तानको इस्लामावादमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो।

Leave a comment