अमेरिकामा भेनेजुएलाका राष्ट्रपति मादुरो रहेको दाबी, ट्रम्पले सार्वजनिक गरे तस्बिर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, आइतबार २० पुस २०८२

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिकामा राखिएको दाबी गरेको छ। उक्त दाबीलाई बलियो बनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोको तस्बिर सार्वजनिक गरेका छन्।

नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मादुरोको तस्बिर सेयर गरेका हुन्। तस्बिरमा मादुरो आँखामा मास्क लगाएको अवस्थामा, खैरो ट्र्याकसुट र हेडफोनसहित देखिन्छन्। तस्बिरको क्याप्सनमा ट्रम्पले “निकोलस मादुरो यूएसएस इवो जिमा (अमेरिकी युद्धपोत) मा” भनेर उल्लेख गरेका छन्।

यसअघि ट्रम्पले शनिबार मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको घोषणा गरेका थिए। यद्यपि सार्वजनिक गरिएको तस्बिरमा मादुरोकी पत्नी देखिएकी छैनन्।

घटनापछि फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको शासन व्यवस्थामाथि कडा टिप्पणी गरेका छन्। उनले ‘सुरक्षित, सही र समझदारीपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाको नियन्त्रणमा रहने’ दाबी गरे। साथै उनले अमेरिकी सेनाको प्रशंसा गर्दै अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिकको ज्यान नजाने र सैन्य उपकरणमा क्षति नपुगेको बताएका छन्।

ट्रम्पका अनुसार भेनेजुएलाको सेना तयार अवस्थामा भए पनि चाँडै नै पराजित भएको थियो। उनले अमेरिकाले समुद्री मार्गबाट हुने लागुऔषध तस्करीको ९७ प्रतिशत नियन्त्रणमा लिएको दाबीसमेत गरेका छन्।

यसैबीच अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले मादुरोविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता गरिने घोषणा गरेकी छन्। उनका अनुसार मादुरोमाथि संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवाद, कोकिन आयात, मेसिनगन तथा खतरनाक हतियार प्रयोगसम्बन्धी षड्यन्त्रको अभियोग लगाइनेछ। उनले मादुरोले चाँडै अमेरिकी अदालतमा उपस्थित भई न्यायिक प्रक्रियाको सामना गर्नुपर्ने बताएकी छन्।

उता भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी छन्। ‘भेनेजुएला सरकार दुवै जना सुरक्षित र जीवित रहेको तत्काल प्रमाण चाहन्छ,’ उनले भनेकी छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मादुरोलाई आगामी हप्ता न्यूयोर्कको म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइ लागुऔषध तथा हतियार तस्करीसँग सम्बन्धित गम्भीर मुद्दामा सुनुवाइ गरिने सम्भावना छ।

यसअघि शनिबार बिहान अमेरिकाले भेनेजुएलामा भीषण हवाई आक्रमण गरेको थियो। सोही क्रममा मादुरो र उनकी पत्नीलाई शयनकक्षबाटै नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूको दाबी छ।

Leave a Comment