काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ।
यसैबीच, पार्टी सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन नबुझ्न र कुनै पनि अफवाहमा नलाग्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
बिहीबार पटक–पटक समय परिवर्तन भए पनि हुन नसकेको मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।
प्रतिनिधिहरूको सहजताका लागि विभिन्न स्थानमा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभा गृहको ‘क’ केन्द्रमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने खुलामञ्चको ‘ख’ केन्द्रमा कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ।
त्यसैगरी, हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधि र तराई–मधेश हलमा मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
मतदान गर्नुअघि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्।
यसैबीच, सभापति थापाले महाधिवेशनमा आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचार भइरहेको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्।
उनले यसपटक पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्दै प्रतिनिधिहरूलाई भ्रममा नपरी स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन्।
थापाले पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मर्यादित र संयमित ढंगले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पनि प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। मतदानसँगै पार्टीको आगामी नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।

