काठमाडौँ, २२ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने मतदान प्रक्रिया फेरि स्थगित भएको छ।
निर्वाचनको तयारी पूरा नभएपछि मतदान शुक्रबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरिएको हो।कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आवश्यक तयारी र केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार मतदान गराउन सम्भव नभएको हो।
यसअघि बिहीबार बिहान १० बजे मतदान गर्ने तयारी गरिएको थियो। तयारी नपुगेपछि समय दिउँसो १ बजेसम्म सारिएको थियो। त्यसपछि पुनः २ बजे मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयमा प्रक्रिया अघि बढ्न सकेन।
निर्वाचन समितिले यसअघि बुधबार मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। उम्मेदवारी फिर्ताको समय थपिएपछि मतदानको समय पटक–पटक परिवर्तन हुँदै आएको हो।
पछिल्लो पटक मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदानको समय पटक–पटक सर्दा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको प्रतीक्षा लम्बिएको छ। शुक्रबार बिहान मतदान सुरु भएपछि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

