हिरासतबाट भागेका अभियुक्तको गिरोह सक्रिय : राति सडक हिँड्ने लक्षित गर्दै लुटपाट, १० जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १५ माघ — जेन–जी आन्दोलनको पृष्ठभूमिपछि राजधानीमा रातको समयमा सर्वसाधारणलाई लक्षित गर्दै लुटपाट गर्दै आएको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। १० जनाको गिरोह पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा ले बुधबारदेखि सञ्चालन गरिएको विशेष सर्च अपरेसन मार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

हिरासतबाट भागेपछि गिरोह गठन

प्रहरीका अनुसार गिरोहका मुख्य नाइके विनय तामाङ हुन्। उनी जेन–जी आन्दोलनअघि बूढानीलकण्ठ क्षेत्रमा चोरी आरोपमा पक्राउ परेर महाराजगञ्ज प्रहरीको हिरासतमा थिए।
भदौ २४ गते हिरासतबाट फरार भएका तामाङले त्यसपछि समूह बनाएर विभिन्न स्थानमा लुटपाट सुरु गरेको अनुसन्धानबाट खुलेको छ।

राति १२ पछि ‘टार्गेट’ अपरेसन

गिरोहले विशेष गरी राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडकमा हिँड्ने व्यक्तिहरूलाई निशाना बनाउने गरेको प्रहरीको भनाइ छ।
महिलाहरूका कानका गहना लुस्ने, एकान्त स्थानमा भेटिएका व्यक्तिलाई धम्क्याएर लुट्ने र त्यसपछि मोटरसाइकलमा भाग्ने शैली अपनाइन्थ्यो।

कुन–कुन क्षेत्रमा कति घटना?

अनुसन्धानअनुसार हालसम्म गिरोहले—

स्वयम्भू क्षेत्रमा ७ वटा

महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रमा ३/३ वटा

बौद्ध र गौशाला क्षेत्रमा ३/३ वटा

ठिमी क्षेत्रमा १३ वटा

लुटपाटका घटना गरेको खुलेको छ।
यस गिरोहविरुद्ध हालसम्म २७ वटा जाहेरी परिसकेको प्रहरीले जनाएको छ।

पक्राउ र झडप

पक्राउ गर्ने क्रममा भएको दोहोरो झडपमा प्रहरी र विनय तामाङ घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

पक्राउ परेकाहरू

विनय तामाङसहित पक्राउ पर्नेहरूमा—
आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।

बरामद सामग्री

उनीहरूबाट प्रहरीले

३ वटा मोटरसाइकल

१ वटा ट्याक्सी

सुनका गरगहना

नगद रकम

बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्ति पहिले पनि चोरी र डाका मुद्दामा पक्राउ परिसकेका पृष्ठभूमिका हुन्। उनीहरू काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका भएको खुलेको छ।

प्रहरीले गिरोहसँग सम्बन्धित अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Comment