थवाङ बोलेरो दुर्घटना : मृतक २० पुगे, उद्धार कार्य जारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — रोल्पाको थवाङ क्षेत्रमा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो गाडी थवाङ गाउँपालिका–१ जलजलामा भीरबाट खस्दा सुरुवाती अवस्थामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार पछि थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतक संख्या २० पुगेको हो।
प्रहरीका अनुसार उक्त गाडी करिब ८ सय मिटर तल भीरमा खसेको थियो, जसका कारण क्षति ठूलो भएको अनुमान गरिएको छ। दुर्घटनामा परेकाहरू वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन रुकुम पूर्वबाट जलजलातर्फ जाँदै थिए।
दुर्घटनालगत्तै प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य अझै जारी रहेको बताइएको छ। दुर्गम भौगोलिक अवस्था र नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन समय लागेको प्रहरीले जनाएको छ।
घटनाबारे थप जानकारी संकलन भइरहेको र उद्धार टोलीसँग निरन्तर सम्पर्कको प्रयास भइरहेको प्रहरीको भनाइ छ।

Leave a Comment