काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा स्पेनले उरुग्वेलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। स्पेनले एलेक्स बाएनाको एक मात्र गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएको हो।
दुई पूर्व विश्व विजेताबीच भएको खेलमा उरुग्वेलाई अघिल्लो चरण पुग्न जित आवश्यक थियो। तर स्पेनविरुद्धको हारसँगै उरुग्वेको समूह चरण पार गर्ने सम्भावना समाप्त भयो।
खेलको ४२औँ मिनेटमा मार्कोस लरेन्टेको पासमा एलेक्स बाएनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
दोस्रो हाफमा उरुग्वेले बराबरी गोलका लागि दबाब बढाए पनि सफल हुन सकेन। स्पेनका फेरान टोरेसको ८६औँ मिनेटको प्रहार बारमा लागेर फर्किएको थियो।
जितसँगै स्पेन समूह ‘आई’ मा ७ अंक जोड्दै समूह विजेता बनेको छ। यता उरुग्वेले तीन खेलबाट दुई अंक मात्रै जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
यसै समूहको अर्को खेलमा केप भर्डे र साउदी अरेबियाले गोलरहित बराबरी खेले। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डे तीन अंकसहित समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।
स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, उरुग्वेको विश्वकप यात्रा समाप्त
Leave a Comment
Leave a Comment






