काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर २० रुपैयाँ घटेर १९७ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने अब यसको मूल्य प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको हो।
त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय रुपैयाँ घटाइएको छ। अब १४.२ किलोको ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ र ७.१ किलोको सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ कायम हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको सुधारलाई आधार बनाउँदै मूल्य घटाइएको निगमको भनाइ छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा त्यसको प्रभाव देखाउन ढिलाइ भएको भन्दै निगममाथि आलोचना हुँदै आएको थियो।







