६ भाद्र,बारा: महागढीमाई नगरपालिकामा यस वर्ष पनि तीज कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। नगरपालिकाकी उपमेयर तारा देवी कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश नेपाली कांग्रेसका उपसभापति चन्द्रशेखर यादव प्रमुख अतिथि रहनु भयो।
विशिष्ट अतिथिको रूपमा सहभागी नगरप्रमुख उपेन्द्र यादवले कार्यक्रममा दलित समुदायको हितमा विभिन्न महत्वपूर्ण घोषणा गरेका छन्। उनका अनुसार दलित बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराइने, दलित परिवारलाई २० युनिटसम्म निःशुल्क विद्युत सेवा दिने, रोग परीक्षणका लागि ल्याबमा २,००० रुपैयाँसम्म निःशुल्क सुविधा दिने र दलित परिवारलाई जीवन बीमामा ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइनेछ।
कार्यक्रममा वक्ताहरूले महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावजस्ता विषयमा आ-आफ्ना विचार राखे। साथै तीजको अवसरमा प्रस्तुत गरिएको नृत्य, गीत तथा नारी चेतनासम्बन्धी कार्यक्रमहरूले वातावरण उत्साहपूर्ण बनाएको थियो।
उपमेयर तारा देवी कानुले महिलाबीच एकता, आत्मनिर्भरता र संस्कृतिको संरक्षणको आवश्यकता औंल्याउँदै तीज पर्वले समाजमा समानता, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न प्रेरणा दिने बताइन्। नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेस बारा कार्यसमितिका सचिव भैयाराम यादव, महागढीमाई नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गजेन्द्र कुमार जयसवाल, वडा नं. २ का अध्यक्ष विश्वनाथ कुशवाहा, वडा नं. ३ का अध्यक्ष उपेन्द्र जसवाल, वडा नं. ६ का अध्यक्ष गेनालाल यादव, महिला सञ्जाल अध्यक्ष बबिता जयसवाल, महिला अगुवा मेघा शाही, प्रियांका दासलगायतका जनप्रतिनिधि, महिला अगुवा र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


