काठमाडौं । भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको सैन्य आक्रमणको कडा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई अफगानिस्तानको सार्वभौमिकतामाथिको आक्रमण भएको बताएको हो ।
भारतले आक्रमणमा महिला तथा बालबालिकासहित निर्दोष नागरिकको मृत्यु भएको दाबी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानको कदमले क्षेत्रीय शान्ति र स्थिरतामा जोखिम बढाएको जनाएको छ ।
विज्ञप्तिमा पाकिस्तानले आफ्ना आन्तरिक समस्याबाट ध्यान हटाउन यस्ता गतिविधि गर्ने गरेको आरोपसमेत लगाइएको छ । भारतले अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताको समर्थन जारी राख्ने स्पष्ट पारेको छ ।
यसअघि पाकिस्तानले आइतबार र सोमबार राति अफगानिस्तानभित्र स्थल तथा हवाई सैन्य कारबाही गरेको जनाएको थियो । पाकिस्तानका अनुसार उक्त कारबाहीमा २९ जना चरमपन्थी मारिएका थिए ।
तर अफगानिस्तानको तालिबान सरकारले भने आक्रमणमा महिला र बालबालिकासहित धेरै सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । दुई देशबीचको पछिल्लो तनावले क्षेत्रीय सुरक्षा चिन्ता थप बढाएको छ ।
अफगानिस्तानमाथि पाकिस्तानी आक्रमणको भारतद्वारा विरोध, सार्वभौमिकता उल्लंघन भएको दाबी
Leave a Comment
Leave a Comment






