सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग प्रभु साहको माग

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 45
पढ्न लाग्ने समय : 2 मिनेट

२२ चैत्र,काठमाडौ :आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले सुकुम्वासी बस्तीमा खानेपानीको लाईन किन काटेको भन्दै प्रश्न समेत गरे ।

काठमाडौंको अनामनगरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताए । उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको भन्दै सरकारको आलोचना गरे ।

सरकारले यथासिघ्र सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताउदै उनले सरकारले चासो नदिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक छ । सरकारले चासो दिएन भने हामी त्यसका बिरुद्ध आन्दोलन बाध्य हुनेछौं’ आजपा अध्यक्ष साहले भने ।

सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।

अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउदै उनले दलाल दलतन्त्रको अन्त्य र सुकुम्बासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन आग्रह गरेका छन् ।

दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी बिभिन्न कार्यक्रममा सहभागि हुदैआएका छन् ।

Leave a comment