१३ असार,वीरगञ्ज : वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर पुनर्निर्माण भएको १३ औं वर्ष पूरा भएको अवसरमा शुक्रबार भव्य गहवामाई रथयात्रा सम्पन्न भएको छ।
यो यात्रा २०८० सालदेखि सुरु भएको र यस वर्ष तेस्रो पटक आयोजना गरिएको हो ।
बिहान करिब ८ बजे गहवामाई मन्दिर प्रांगणबाट निकालिएको रथयात्रामा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लाहरूबाट तथा छिमेकी मुलुक भारतबाट समेत गरी एक लाखभन्दा बढी हिन्दु भक्तजनहरू सहभागी भएका थिए।
आयोजक गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार, यस वर्षको रथयात्रामा अनुमान गरिएभन्दा बढी भक्तजनहरूको सहभागिता देखिएको थियो।
काठबाट मात्रै बनाइएको रथमा २६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर रथयात्रा अघि बढाइएको थियो ।
घण्टाघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर प्रांगणमा पुगेर रथयात्रा समापन भएको थियो ।
विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथयात्रामा ठाउँ ठाउँमा स्थानीय श्रद्धालुहरूले पुष्पवृष्टि गरी स्वागत गरेका थिए।
Leave a Reply