काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यक्तिगत दुश्मनीका आधारमा काम गरिरहेको आरोप लगाएका छन्।
बुधवार बालकोटस्थित आफ्नो निवासमा जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, “सरकारको कदमले शान्ति र स्थायित्व होइन, अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ।”
उनका अनुसार सरकारले आन्दोलनमा संलग्न आपराधिक समूहमाथि कुनै कारबाही नगरी दोषीलाई उन्मुक्ति दिइरहेको छ। उनले थपे, “लुटपाट गर्नेहरू यही वरिपरिका थिए, तर सरकारले उनीहरूलाई पक्राउ गर्न चाहेन। बरु पक्राउ परेकाहरूलाई पनि छोड्दैछ। यसरी सरकारले अपराधलाई प्रोत्साहन दिएको छ।”
ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि व्यक्तिगत रूपमा दुश्मनी लिएको आरोप समेत लगाए। उनका अनुसार, “गृहमन्त्रीको अन्तर्वार्तामा नै त्यो कुरा प्रष्ट देखिन्छ। सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन, बरु राजनीतिक प्रतिशोधमा केन्द्रित छ।”
उनले जेन–जी आन्दोलनका नाममा केही व्यक्तिहरूलाई राजनीतिक रूपमा फसाउने योजना सरकारले बनाइरहेको दाबी गरे। “सरकार आफूले चाहेका मानिसमाथि दबाब बढाएर पक्राउ गर्ने तयारीमा छ,” उनले भने, “यो जनतामाथिको अन्याय हो, जसले अझ ठूलो असन्तोष जन्माउनेछ।”
ओलीले आन्दोलनका पीडितहरूलाई न्याय दिनुको सट्टा सरकारले प्रतिशोधका आधारमा काम गरिरहेको भन्दै चेतावनी दिए — “सरकारले समयमै गल्ती सच्याएन भने देश फेरि अस्थिरताको दिशातिर लैजानेछ।”



Leave a Reply