लिग–२ त्रिकोणात्मक श्रृंखला सुरु हुँदै, पहिलो खेलमै नेपाल–युएई भिडन्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, वैशाख १२ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान थाल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ।
नेपाल र युएईबीचको प्रतिस्पर्धा सधैं रोचक मानिन्छ। दुवै टोलीबीच अहिलेसम्म भएका एकदिवसीय खेलहरूमा नेपालले सामान्य अग्रता बनाएको छ। पछिल्लो टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो, जसले आजको खेललाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
लिग–२ तालिकामा नेपाल हाल सातौँ स्थानमा छ। शीर्ष छ भित्र प्रवेश गर्न बाँकी खेलहरूमा राम्रो प्रदर्शन अनिवार्य बनेको छ। विशेषगरी यो त्रिकोणात्मक श्रृंखला नेपालका लागि ‘गर या मर’ जस्तै सावित हुन सक्छ। आठ खेलमध्ये कम्तीमा पाँच खेल जित्न सके नेपालले माथिल्लो स्थानतर्फ उक्लिने सम्भावना बलियो हुनेछ।
यस श्रृंखलामा नेपालले युएई र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले युएईसँग आजपछि वैशाख १८ मा पुनः खेल्नेछ भने ओमानसँग वैशाख १६ र २२ गते दुई खेल खेल्ने तालिका छ।
युएईविरुद्ध नेपालले अघिल्ला केही खेलमा अपेक्षित नतिजा निकाल्न सकेको छैन। त्यसैले घरेलु मैदानमा जित निकाल्दै सकारात्मक सुरुवात गर्ने लक्ष्य नेपालले राखेको छ।
यो श्रृंखला सकिएलगत्तै अर्को त्रिकोणात्मक श्रृंखला पनि कीर्तिपुरमै आयोजना हुनेछ, जहाँ नेपालले अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले लगातार दुई श्रृंखलामा नेपालको प्रदर्शन लिग–२ को भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधार बन्ने देखिएको छ।
हाल तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहेका छन्। नेपालका लागि अबका खेलहरू मात्र अंक जोड्ने होइन, आफ्नो लय र आत्मविश्वास फर्काउने अवसर पनि बनेका छन्।

Leave a Comment