मानव अधिकार आयोगले सरकारलाई भन्यो– चाडपर्वमा शान्ति–सुरक्षा मजबुत बनाऊ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १२ असोज।
राष्ट्रिय मानव अधिकार आयोगले दशैं, तिहार र छठजस्ता चाडपर्वका समयमा शान्ति–सुरक्षा सुदृढ गर्न सरकारलाई आग्रह गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा र पर्वको अवधिमा सर्वसाधारणको आवतजावतमा कठिनाइ, अपराधका घटना वृद्धि, महँगी तथा कालोबजारी, सार्वजनिक सेवामा अवरोध जस्ता समस्या बढ्ने सम्भावना रहने भएकाले विशेष ध्यान दिन सरकारलाई सचेत गराएको हो।

यस्तै, मानव अधिकार उल्लङ्घनका घटनामा उजुरी लिन र आकस्मिक घटनामा अनुगमन गर्न आयोगका कार्यालयहरू चाडपर्वका दिनमा पनि खुला रहने भएका छन्। ललितपुरको हरिहर भवनस्थित केन्द्रीय कार्यालयसहित प्रदेश शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगले कुनै पनि अधिकार उल्लङ्घनको घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, चाडपर्वको समयमा सेवाप्रवाह चुस्त बनाउन र शान्ति–सुरक्षा प्रभावकारी बनाउन सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ।

Leave a Comment