प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेट, निर्वाचन तयारीमा केन्द्रित छलफल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

­१९ कात्तिक २०८२, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा दुवैले आगामी निर्वाचनको तयारी, राजनीतिक दलहरूको सहभागिता र देशको समग्र राजनीतिक वातावरणबारे विस्तृत छलफल गरेका छन्।

प्रधानमन्त्री कार्कीले मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियामा आफू प्रतिबद्ध रहेको बताइन्। उनले जेनजी आन्दोलनको मूल भावना अनुरूप पारदर्शिता र राजनीतिक स्थायित्वमा सरकार केन्द्रित रहेको पनि स्पष्ट पारिन्।

पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलहरू चुनावमा सहभागी हुनुपर्ने धारणा राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने एकमात्र मार्ग निर्वाचन नै भएको बताए। उनले भने,

“राजनीतिक दलहरू चुनावमा जानैपर्छ। देशलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन चुनावभन्दा राम्रो विकल्प छैन।”

यादवले सरकारको तयारी र विभिन्न पक्षहरूसँग भइरहेको संवादको प्रशंसा गर्दै नागरिक समाजसँग समेत व्यापक संवाद गर्न सुझाव दिए।

भेटका क्रममा यादवले आफू राष्ट्रपति भएको २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने अनुभव पनि साझा गरे। उनले त्यसबेला सुरक्षा संयन्त्रको समन्वय र भूराजनितिक अवस्थाको महत्वबारे स्मरण गराए।

सुरक्षा व्यवस्था सुदृढ पार्न सबै सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै यादवले आउँदो २१ फागुनमा हुने निर्वाचनमा सबै दलहरूको सहभागिता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरे।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतका मन्त्रीहरूको उपस्थिति रहेको थियो।

Leave a comment