रास्वपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, भरतपुरमा राजनीतिक उत्साह बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

चितवन, असार ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा तयारीले तीव्रता पाएको छ। असार ७ गते सुरु हुने महाधिवेशनका लागि उद्घाटनस्थलदेखि बन्दसत्रसम्मका सबै व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेका छन्।
भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन विशाल ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको छ। करिब १० हजार सहभागी अट्ने क्षमता रहेको उक्त संरचनामा पाँच हजारभन्दा बढी कुर्सी व्यवस्थापन गरिने भएको छ। उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
महाधिवेशनलाई सांस्कृतिक रूपमा आकर्षक बनाउन चितवनको पहिचान झल्काउने विभिन्न जातीय तथा सांस्कृतिक प्रस्तुति पनि राखिने तयारी गरिएको छ। उद्घाटनपछि असार ८ गतेदेखि बन्दसत्र सुरु हुनेछ।
यसअघि राजनीतिक कार्यक्रमका लागि हल उपलब्ध गराउन अनिच्छुक देखिएको चितवन उद्योग संघले अन्ततः प्रदर्शनी केन्द्रको सभाहल रास्वपालाई उपलब्ध गराएको छ। उद्योग मन्त्रालय र सुरक्षा निकायको समन्वयपछि तीन दिनका लागि हल प्रयोग गर्न अनुमति दिइएको हो। बन्दसत्रका लागि मतदानस्थल, बैठक व्यवस्थापन, खानपान, शौचालय, विद्युत् तथा वातानुकूलन प्रणालीको तयारी भइरहेको आयोजकले जनाएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये १०० जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन्। निर्वाचन प्रक्रिया विद्युतीय मतदान प्रणाली (इ–भोटिङ) मार्फत सञ्चालन गरिने तयारी गरिएको छ। यसका लागि आवश्यक प्राविधिक व्यवस्थापन पूरा भइसकेको जनाइएको छ।
देशभरबाट आउने करिब तीन हजार प्रतिनिधि तथा अन्य सहभागीलाई लक्षित गर्दै भरतपुर, नारायणगढ, सौराहा, टाँडी, मेघौली, पटिहानी लगायत क्षेत्रका होटलहरूमा आवास व्यवस्थापन गरिएको छ। प्रतिनिधिहरूले होटल खर्च स्वयं व्यहोर्नुपर्ने भए पनि खाना, खाजा तथा यातायातको व्यवस्था पार्टीले गर्ने जनाएको छ।
महाधिवेशन सफल बनाउन रास्वपाका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरू शुक्रबारदेखि नै चितवन आउन थालेका छन्। पार्टीले यस महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

Leave a Comment