जोनाथन डेभिडको ह्याट्रिकमा क्यानडाको शानदार जित, कतार ६–० ले पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार ५ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
भ्यान्कुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारलाई दबाबमा राखेको थियो। क्यानडाको फराकिलो जितमा स्टार फरवार्ड जोनाथन डेभिड नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीको जितलाई ऐतिहासिक बनाए।
खेलको १६औँ मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि २९औँ मिनेटमा डेभिडले दोस्रो गोल थपे। खेलको ३३औँ मिनेटमा कतारका होमाम अहमदले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३–० को बलियो अवस्थामा पुर्‍याए।
दोस्रो हाफमा कतारको अवस्था झन् कमजोर बन्यो। ५१औँ मिनेटमा असिम मादिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झरेको थियो।
संख्यात्मक रूपमा कमजोर बनेको कतारविरुद्ध क्यानडाले लगातार अवसर सिर्जना गरिरह्यो। ६४औँ मिनेटमा नेथन सालिबाले चौथो गोल गरे भने ७५औँ मिनेटमा कतारका मोहम्मद मनइको आत्मघाती गोलले अन्तर ५–० बन्यो।
खेलको अन्त्यतिर जोनाथन डेभिडले अर्को गोल थप्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे र क्यानडालाई ६–० को एकपक्षीय जित दिलाए।
यो जितसँगै क्यानडाले समूह ‘बी’ मा आफ्नो दाबेदारी बलियो बनाएको छ भने लगातार दुई खेलाडी गुमाएको कतारले प्रतियोगितामा ठूलो धक्का बेहोरेको छ।

Leave a Comment