काठमाडौं, २३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशभरका १३५ निर्वाचन अधिकृत कार्यालयमा मतगणना जारी छ। हालसम्म २७ स्थानको नतिजा सार्वजनिक भइसकेको छ भने तीन निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु भएको छैन।
प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानमा समानुपातिकतर्फको मतगणना भइरहेको छ।
ताजा नतिजाअनुसार झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ठूलो अग्रता लिएका छन्। शाहले ३२ हजार ३३६ मत पाउँदा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन्।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा करिब तीन हजार मतले पछि छन्। सिंहले ९ हजार ३७ मत पाउँदा थापाले ५ हजार ८५८ मत पाएका छन्।
काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू विजयी हुने लगभग निश्चित देखिएको छ। नौ क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ को नतिजा आउन बाँकी छ।
अहिलेसम्म एमालेका उम्मेदवार एक स्थानमा निर्वाचित भएका छन्। बाँके–२ बाट इस्तेहाक राई विजयी भएका हुन्।
त्यस्तै नेपाली कांग्रेसका पाँच उम्मेदवार निर्वाचित भइसकेका छन्।
समानुपातिकतर्फ
समानुपातिक मतगणनामा रास्वपा आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसभन्दा झण्डै तेब्बर मतले अघि देखिएको छ। देशभर कांग्रेसले करिब ७ हजार ५ सय मत पाउँदा रास्वपाले करिब २२ हजार ५ सय मत पाएको छ।
एमालेले रास्वपाले पाएको मतको करिब १० प्रतिशत मात्रै मत पाएको छ भने एमालेभन्दा राप्रपाले बढी मत प्राप्त गरेको देखिएको छ।
प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा अहिले समानुपातिक मतगणना जारी रहेको छ।






