इरानसँग सम्झौतामा हतार नगर्न अमेरिकी टोलीलाई ट्रम्पको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी वार्तामा कुनै पनि सम्झौता हतारमा नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन्। मध्यपूर्व तनाव कम गर्ने सम्भावित सहमतिबारे चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए पनि अन्तिम सहमति नभएसम्म अमेरिकाले इरानमाथिको दबाब कायम राख्ने स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, “सम्झौता अन्तिम रूपमा प्रमाणित र हस्ताक्षर नभएसम्म प्रतिबन्ध र नाकाबन्दी पूर्ण रूपमा जारी रहन्छ।”
अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो। वासिङ्टनको आरोपअनुसार इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रको समुद्री आवागमन अवरुद्ध गर्ने प्रयास गरेको थियो। उक्त समुद्री मार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिन्छ।
यता अमेरिकी प्रशासन र इरानबीच नयाँ युद्धविराम तथा समझदारीको खाका तयार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर अमेरिकाभित्रै सम्भावित सम्झौतामाथि राजनीतिक दबाब बढ्न थालेको बताइएको छ। केही वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरूले इरानसँग हुने सहमतिका सर्तप्रति असन्तुष्टि जनाइरहेका छन्।
ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा नेतृत्वमा सन् २०१५ मा भएको आणविक सम्झौताको समेत आलोचना गरेका छन्। उनले यसपटक “समय लिएर सही निर्णय गर्नुपर्ने” बताएका छन्।
उता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाई ले दुई पक्षबीच १४ बुँदे समझदारी–पत्रको अन्तिम तयारी भइरहेको संकेत दिएका छन्। इरानी सरकारी टेलिभिजनसँगको कुराकानीमा उनले वार्ता निष्कर्षतर्फ उन्मुख रहेको बताएका हुन्।
अमेरिका–इरान सम्बन्ध फेरि नयाँ मोडमा पुगेको अवस्थामा आगामी सहमतिले मध्यपूर्वको सुरक्षा, तेल आपूर्ति र अन्तर्राष्ट्रिय कूटनीतिमा ठूलो प्रभाव पार्ने विश्लेषण भइरहेको छ।

Leave a Comment