उपाधिको लक्ष्यसहित आज मैदानमा नेपाल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ११ जेठ । नेपाली महिला फुटबल टोली आजदेखि साफ महिला च्याम्पियनसिप २०२६ को प्रतिस्पर्धामा उत्रिंदैछ। उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको इतिहासमा नेपाल बलियो टोलीका रूपमा चिनिए पनि उपाधि भने अझै जित्न सकेको छैन। सात संस्करणमध्ये छ पटक फाइनल पुगेको नेपाल हरेक पटक उपविजेतामै सीमित बनेको थियो।
यसपटक भने नेपाली टोली पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले अनुभव र युवाशक्तिको मिश्रणसहित सन्तुलित टोली तयार गरेका छन्।
अनिता बस्नेत, हिरा भुजेल र गीता राना जस्ता अनुभवी खेलाडी टोलीको मुख्य आधार मानिएका छन्। युवा खेलाडीहरूका लागि पनि यो प्रतियोगिता आफ्नो क्षमता प्रमाणित गर्ने ठूलो अवसर बनेको छ।
तर नेपाललाई स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र गोलरक्षक सविता रानाको अनुपस्थितिले कमजोर बनाउने देखिएको छ। चोटका कारण दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्।
छ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा भुटान र श्रीलंका छन्। नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने तालिका छ।
समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स रहेका छन्। त्यसैले सेमिफाइनलमा नेपालले बलिया प्रतिद्वन्द्वीसँग खेल्नुपर्ने सम्भावना प्रबल छ।
सेमिफाइनल खेल जेठ २० गते र फाइनल जेठ २३ गते हुनेछ। पछिल्लो समय नेपाली फुटबलमा देखिएको आन्तरिक विवाद र शक्ति संघर्षबीच पनि टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्ने लक्ष्य राखेको छ।

Leave a Comment