आज अक्षय तृतीया : शुभकार्यका लागि उत्तम दिन, दान–धर्मको विशेष महत्त्व

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, वैशाख ७ — आज वैशाख शुक्ल तृतीया, हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धा र विश्वासका साथ अक्षय तृतीया पर्व मनाइरहेका छन्। गर्मी मौसममा शीतलता दिने परम्पराअनुसार आज जौको सातु र सर्वत पानी सेवन गरेर पर्व मनाउने चलन रहेको छ।
धार्मिक मान्यताअनुसार यही दिनबाट त्रेता युगको सुरुवात भएको विश्वास गरिन्छ। साथै, भगवान परशुराम को जन्मदिनका रूपमा पनि यो दिनलाई मनाइने गरिन्छ, जसलाई परशुराम जयन्ती पनि भनिन्छ।
शास्त्रअनुसार आजकै दिन शिव र पार्वती को विवाह सम्पन्न भएको विश्वास छ। त्यसैले यस दिन गरिने स्नान, पूजा, दान र अन्य शुभकार्यलाई विशेष फलदायी मानिन्छ।
ज्योतिषशास्त्रका अनुसार आज सूर्य र चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन ‘स्वयंसिद्ध मुहूर्त’ मानिन्छ। अर्थात् कुनै पनि शुभकार्यका लागि पञ्चाङ्ग हेर्नुपर्ने आवश्यकता पर्दैन।
यस दिन विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन तथा अन्य सामान खरिद, सवारी साधन किनमेल, भूमि पूजा र नयाँ व्यापार सुरु गर्न अत्यन्तै शुभ मानिन्छ। साथै, यस दिन गरिएको दान–धर्मबाट ‘अक्षय’ अर्थात् कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने विश्वास छ।
वैशाख महिनालाई भगवान विष्णुको महिना मानिने भएकाले भक्तजनहरूले यो दिन विशेष पूजा–आराधना गर्दै धर्मकर्ममा लाग्ने गरेका छन्।

Leave a Comment